हवाई जहाजमा टिकट सहजै, सार्वजनिक बसमा तँछाडमछाड

सडक मार्ग प्रयोग गरेर दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जान लागेका यात्रुहरूले बसको अग्रिम टिकट बुकिङ गर्न तँछाडमछाड गरिरहनु परेको छ । तर, हवाई यात्रुका लागि भने टिकटको समस्या नभएको वायुसेवा कम्पनीहरु बताउँछन् ।

बिज्ञापन

 

बिज्ञापन

२६ असोज, काठमाडौं । नजिकिंदै गएको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुले आफ्नो गन्तव्यका लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् । यात्रुले सडक यातायातका लागि अझै पनि टिकटका लागि तँछाडमछाड गरिरहनु परेको छ भने हवाई यात्रुका लागि भने टिकटको समस्या नभएको वायुसेवा कम्पनीहरुले बताएका छन् ।

 

बिज्ञापन

सरकारले सार्वजनिक बसका लागि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाएको छ । अहिलेसम्म नियमित रुटका लागि तोकिएका टिकटहरुको बिक्री सकिएर थप टिकटमा अग्रिम बुकिङ भइरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

‘दशैंमा यात्रुको आँधिबेहरी जस्तै आउँछ, यसलाई व्यवस्थापन गरेरै यात्रा सहज बनाउने हो,’ उनले भने, ‘हामी सकेसम्म यात्रा गर्न चाहने सबैलाई घरसम्म पुर्‍याउन प्रयासरत छौं ।’

सार्वजनिक बसमा पहाडी भेगमा बाढी समस्या रहेको यात्रुहरुको गुनासो छ । यसलाई पनि थप सवारी साधनको व्यवस्थापन गरेर यात्रुलाई गाउँगाउँ लैजाने उनको दाबी छ ।

‘कतै स–साना सवारी दुर्घटना भइहालेमा सवारी साधन नै रोकिदिने गरिन्छ, चाडबाडमा चालकलाई थुने पनि सवारी नरोक्दिन हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने ।

यसले सवारी साधनको अभाव नहुने र कसैको पनि यात्रा अवरुद्ध नहुने उनको भनाइ छ ।

व्यवसायीहरुका अनुसार आइतबार परेको घटनास्थापना अगाडि सडक तथा हवाई दुवै माध्यमबाट शुक्रबार र शनिबार अत्यधिक संख्यामा यात्रु बाहिरिने छ । त्यसपछि फूलपाती पछिका तीन दिन उपत्यका र शहरी इलाकाबाट ग्रामिण इलाकामा जाने यात्रुको बढी चाप हुने गर्छ ।

तुम्लिङटारबाहेक ठूला जहाज जाने गन्तव्यमा माग अनुृसार नै हवाई टिकट
नेपालमा अहिले नियमित उडान गर्ने गरी दुई दर्जन ठूला हवाई जहाज उडिरहेका छन् । यी हवाई जहाजमा दैनिक १५ हजारभन्दा माथिको संख्यामा यात्रु बोक्न सक्ने क्षमता छ । त्यसअनुसार अहिले तोकिएको नियमित सेड्युलबाटै व्यवस्थापन गर्न सम्भव देखिएको वायुसेवा कम्पनीहरुले बताएका छन् ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार शुक्रबारदेखि हवाई जहाजमा पनि ठूलो चाप सुरु हुन्छ । अहिले दशैं लक्षित गरी ९० प्रतिशत हाराहारी टिकट बुक भइसकेको उनले जानकारी दिए । यो नियमित उडान अन्तर्गत नै हो । आवश्यक परेको बेला व्यवसायीले थप उडानहरु गर्न सक्षम छन् । ‘हामीसँगै अहिले १६ वटा जहाज छ, त्यसमध्ये १३ जहाजमा ७० सिट क्षमता छ,’ उनी भन्छन्, ‘वायुसेवा कम्पनी माग अनुसार टिकट उपलब्ध गराउन तयार छन् ।’

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला समेत जहाजमा टिकटको समस्या नभएको दाबी गर्छन् । ‘आजको दिनमा २५ हाराहारी ठूला जहाजले आन्तरिक उडानमा नियमित उडान गर्छन्,’ उनी भन्छन्, ‘यसले ठूलो माग थेग्न सक्छ ।’

कम्पनीहरुका अनुसार पहाडी भेगको तुम्लिङटार र सुर्खेतमा भने टिकट बुकिङ प्याक भइसकेको छ । सुगमका अन्य गन्तव्यमा भने माग अनुसार नै टिकट उपलब्ध रहेको कम्पनीहरुले बताएका छन् ।

हवाई जहाजमा पनि नेपालगञ्जबाट पहाडी भेगमा उड्ने जहाजहरुमा भने अहिले पनि टिकटको अभाव छ । त्यसो हुनुमा कम जहाज हुनु मुख्य कारण हो ।

मूल्य भने अधिकतम सीमामा मात्र

वायुसेवा कम्पनीहरुले चाडबाडका लागि सस्तो मूल्यका टिकट भने बिक्री भइसकेको बताएका छन् । वायुसेवा कम्पनीले लिन पाउने अधिकतम भाडाको सीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको छ । चाडबाडका बेला वायुसेवा कम्पनीहरुले अधिकांश टिकट सोही माथिल्लो सीमाबाट काट्ने गर्छन् । सोहीकारण यात्रुले दशैंमा मूल्य बढाएको गुनासो गर्छन् ।

वायुसेवा कम्पनीहरुले भने दशैं–तिहारमा वान–वे ट्राफिक हुने भएकाले धेरै टिकटहरु माथिल्लो सीमाबाट बिक्री गर्नु परेको बताउँछन् । ‘हामी सरकारले तोकेको मापदण्ड भन्दा माथि जान मिल्दैन’, बुद्ध एयरका सूचना अधिकृत कर्ण भन्छन्, ‘त्यसभित्र अन्तिम समयमा टिकट लिँदा स्वभाविक सस्तो मूल्यका टिकट पाउन मुस्किल हुने गरेको छ ।’

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु