देशको हाल बिर्सिएर घुमघाममा प्रधानमन्त्री

अन्तिम रुप नै नपाएको संघीय निजामती विधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेर ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाका भाग लिन अमेरिका उडे ।

बिज्ञापन

न्यूयोर्कमा ६ दिन बिताएपछि प्रधानमन्त्री प्रचण्ड ५ असोजमा अमेरिकाबाटै चीन पुगे, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार ह्वाङ्झाउ र प्रधानमन्त्री लि छ्याङसँग सोमबार बेइजिङमा भेटवार्ता गरेपछि राजनीतिक भेटवार्ता सकिएको छ ।

बिज्ञापन

तर प्रधानमन्त्री क्याबिनेटका मन्त्रीहरुसहित घुमघाममा छन् । प्रधानमन्त्री प्रचण्डले चोङकिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेससहित ल्हासाको पोताला दरबार, जोखाङ मन्दिर, कैलाश बे क्याम्प, मानसरोबर भ्रमण सकेका छन् । अझै उनले ‘चेङदु जाइन्ट पान्डा ब्रिडिङ’को पनि भ्रमण गर्ने कार्यक्रम बाँकी छ ।

तर, मन्त्रिपरिषदको निर्णयअनुसार अहिलेसम्म निजामती विधेयक संसदमा पुगेको छैन । मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण नगर्दै मुख्यसचिव डा. वैकुण्ठ अर्याल पनि ४ असोजमा चीन पुगेका थिए । उनी पनि प्रधानमन्त्रीसँगै ल्हासामा रहेका कारण महत्वपूर्ण विधेयक संसदमा लैजाने निर्णय सार्वजनिक गरेको तीन हप्तासम्म पनि अपुरो मस्यौदा प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।

बिज्ञापन

संसद बिजनेसबिहीन छ, संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा शिक्षकहरुलाई सडक आन्दोलन गरिरहेका छन् । सरकारले नेपाल शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेपनि राहत र अनुदान शिक्षकहरुको आन्दोलन चलिरहेकै छ ।

कार्यक्षेत्रमा सुरक्षा माग गर्दै चिकित्सकहरुले तीन दिनदेखि आन्दोलनमा छन् । सुन तस्करीको छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोग बन्न सकेको छैन । ६ भदौमा दलहरुबीच भएको सहमति अनुसार यो आयोग ५ असोजमा बनिसक्नुपर्थ्यो । तर आयोगको कार्यादेशमा सहमति जुट्न सकेन ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने छलफलले मात्र यो टुंगो लगाउने नेताहरु बताउँछन् । प्रधानमन्त्री प्रचण्ड भने शनिबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु